समाचार
ब्लड बैंक बनेको पाँचबर्ष बित्यो, कर्मचारी पाल्ने पैसा नहुँदा सञ्चालनमा कठीनाई
गणेश घिमिरे
फागुन १९, इलाम 
निर्माण सम्पन्न भएको पाँचबर्ष बित्दापनि इलाम सदरमुकाममा रहेको रक्तसञ्चार केन्द्र (ब्लड बैंक) अझै सञ्चालनमा आएको छैन । ब्लड बैंकलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु प्राप्त भएर जडान भइसकेको पनि दुईबर्ष भन्दा नाघिसकेको छ । तर सञ्चालन खर्चको स्रोत नहुँदा ब्लड बैंक सञ्चालनमा आउन नसकेको नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जनाएको छ ।
विभिन्न क्षेत्रबाट अर्थ संकलन गरेर इलाम नगरपालिकाको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा भवन बनेको हो । यसका लागि २८ लाख रुपैयाँ खर्च भएकोे रेडक्रसले जनाएको छ । केन्द्रलाई आवश्यक पर्ने सामान जर्मन सरकारले उपलब्ध गराएको छ । युरोपियन मापदण्डअनुसारको चौधलाख रुपैंयाँ बराबरको सामाग्री जर्मन सरकारले उपलब्ध गराएको हो । यस्तै रेडक्रस केन्द्रबाट चारलाख र सोसाइटी इलाम शाखाले दुईलाख रुपैंयाँ बराबरको सामाग्री खरीद गरेर जडान गरीसकेको सोसाइटीका लेखापाल बसन्त तिम्सिनाले बताए । ‘भवन बनेर आवश्यक सम्पूर्ण सामाग्रीहरु जडान भइसकेको लामो समय बितिसक्यो’ लेखापाल तिम्सिनाले भने ‘कर्मचारी राख्ने आर्थिक स्रोत नहुँदा ब्लड बैंक लामो समयदेखि प्रयोगमा ल्याउन सकिएको छैन ।’ 
आर्थिक स्रोत बिनै सञ्चालन थाले त्यसलाई निरन्तरता दिन चुनौती भएकाले ढिलै भएपनि आवश्यक आर्थिक स्रोत जुटाएर सञ्चालन गर्ने तयारीमा रेडक्रस लागेको सोसाइटीका रोमनाथ आचार्य बताउँछन् । उनका अनुसार ब्लड बैंक सञ्चालन गर्न सुरुमा कम्तिमा पनि २५ देखि ३० लाख आवश्यक पर्छ । तर रेडक्रसले ब्लड बैंक सञ्चालन गर्ने उद्येश्यले स्थापना गरेको रक्तसञ्चार अक्षय कोषमा हाल दशलाख रुपैंयाँ मात्र मौज्दात रहेको छ । अझै १५÷१६ लाख रुपैंयाँ आवश्यक रहेकाले आर्थिक संकलन गरीरहेको आचार्यले बताए । 
ब्लड बैंक सञ्चालन गर्न देउमाई नगरपालिकाले अढाईलाख र इलामनगरपालिकाले डेढलाख रुपैंयाँ सहयोग गर्ने मौखिक बचन दिएको छ भने, रोङ गाउँपालिकाले पन्ध्र हजार रुपैंयाँ आर्थिक सहयोग गरीसकेको जनाएको छ । केन्द्र सञ्चालन गर्दा मासिक एकलाख रुपैंयाँको हाराहारीमा खर्च निस्कने रेडक्रसले जनाएको छ । ब्लड बैंक सञ्चालनका लागि चन्दा दिन्छु भन्दै भवन निर्माणका बेला खातामा नाम टिपाउने कतिपयले अझैसम्म सो रकम नदिँदा पनि सञ्चालनमा कठीनाई भएको लेखापाल तिम्सिनाले बताए । खातामा नाम टिपाउने दाताहरुबाट अझै तीनलाख रुपैंयाँ जति उठ्न बाँकी रहेको छ । सेवा सञ्चालन गर्न दुई प्राविधिकसहित कार्यालय सहयोगीको अनिवार्य व्यवस्था गर्नुपर्छ । अहिले जिल्लाका बिभिन्न स्थानमा हुने रक्तदानमार्फत सञ्चालन भएको रगत झापा, मोरङ र सुनसरीका रक्त सञ्चार केन्द्रमा पठाइँदै आएको छ । केन्द्र सञ्चालनमा भएपछि आवश्यक रगत जिल्लामै प्रयोग गरेर बाँकीमात्रै पठाउने सोचमा रेडक्रस छ । जिल्लामा सरदर मासिक दश यूनिट रगतको आवश्यक पर्ने रेडक्रसले जनाएको छ । रगत अभाव टार्न इलाममा आकस्मिक रक्तसञ्चार सेवाकै भर पर्नुपर्ने अवस्था छ । आवश्यक पर्दा रक्त समूहअनुसार रेडक्रससँग सम्पर्कमा भएका इच्छुक व्यक्तिलाई बोलाएर रगतको जोहो गरिदै आएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक